Loktantra Khabar National Weekly
Ad

सञ्चालनमा आयो सम्राटको चौथो ‘ल्यान्डमार्क होटल’

लोकतन्त्र खबर
२१ फाल्गुन २०८०

सम्राट ग्रुपले रूपन्देहीको भैरहवामा सेवा सुरू गरेको छ। यो समूहले २०४८ सालमा पोखराबाट व्यवसाय सुरू गरेको हो।

समूहले भैरहवामा सुरू गरेको ‘होटल ल्यान्डमार्क’ को ‘सफ्ट लन्च’ एक महिनाअघि भएको थियो।

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले उद्घाटन गरेपछि होटल औपचारिक रूपमा सञ्चालन भएको छ।

सिद्धार्थनगर नगरपालिका–३, सिंगापुर कोलोनीमा रहेको यो होटलको संरचना भैरहवाका व्यवसायी आशा गुरूङले तयार गरेका थिए। कोरोना महामारीबीच नै निर्माण पूरा भए पनि होटल सञ्चालन हुन सकेन। त्यसपछि गुरूङले सम्राट समूहलाई व्यवस्थापन जिम्मा दिएका हुन्।

‘हस्पिटालिटी क्षेत्रको ३२ वर्षको अनुभवसँगै सम्राट ग्रुपले यो होटल व्यवस्थापनको जिम्मा लिएको हो,’ होटलका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले भने।

पैदलमार्ग हुँदै भारतीय पर्यटक भित्रिने नेपालको ठूलो नाका बेलहियाबाट तीन किलोमिटर उत्तरतर्फ रहेको होटल ल्यान्डमार्कमा हाल ५० वटा कोठा छन्। एक वर्षभित्र ३० वटा कोठा थप्ने योजना छ।

यसैगरी यहाँ ६ सय र २ सय जना अटाउने पार्टी हल छन्। सेमिनार हल बनाउन थप एक बिघा जमिन लिइएको छ।

भारतीयहरू नेपालमा आएर बिहे समारोह र भोज गर्ने प्रवृत्ति बढ्दै गएको छ। यही प्रवृत्तिलाई लक्षित गरेर कोठा र हल थप्न लागिएको पाण्डेको भनाइ छ।

‘भारतीयहरू बिहे र पार्टीका लागि धेरै पैसा खर्च गर्छन्। हलको सजावटमै करोडभन्दा बढी रूपैयाँ खर्च गर्छन्,’ पाण्डेले भने, ‘उनीहरूले चाहेजस्तो सजावट गर्न मिल्ने गरी हङकङका इञ्जिनियरबाट इन्टेरियर डिजाइन गरेर नयाँ हल निर्माण गर्छौं।’

यसअघि नेपाल आउने भारतीय पर्यटकले २५ हजार भारतीय रूपैयाँभन्दा बढी ल्याउन नपाउने प्रावधान थियो। हालै भारत सरकारले एक जना भारतीयले ५ हजार डलरसम्म बोक्न पाउने गरी कानुन परिमार्जन गरेकाले नेपालका होटललाई बिहेको गन्तव्य (वेडिङ डेस्टिनेसन) बनाउन सहज हुने व्यवसायीहरूको आशा छ।

व्यवसायी आशा गुरूङले यो होटलको भौतिक संरचना निर्माणमा करिब ५० करोड रूपैयाँ लगानी गरेका थिए। जर्मन प्रविधिबाट सबै कोठा र शौचालयमा घाम छिर्ने गरी डिजाइन गरेको उनको भनाइ छ।

होटलमा डिलक्स, सुपर डिलक्स, फेमिली र जुनियर स्विट कोठा छन्। लाउन्ज, स्विमिङ पुल, सय जना अट्ने रूफटप बार पनि छ।

३२ वर्षमा चार सहरमा चार होटल

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जन्मिएका सिएन र उनका माइला दाजु ओमप्रकाश पाण्डे २०४६ सालतिर पढाइका सिलसिलामा पोखरामा थिए। त्यो समय अहिलेजस्तो आन्तरिक पर्यटन थिएन। भारतीयहरू पनि पर्यटक मानिँदैन थिए। समुद्रपारका आगन्तुक मात्र पर्यटक मानिन्थे।

पाण्डे दाजुभाइ पृथ्वीनारायण क्याम्पसमा पढ्दै गर्दा पोखरामा होटल व्यवसाय फस्टाउने क्रममा थियो।

उनीहरूलाई पर्यटकीय नगरी पोखराले लोभ्यायो। व्यवस्थापन विषय पढेका सिएन पर्यटनतिर तानिए। विद्यार्थी छँदै दाजुभाइले दुई लाख रूपैयाँ प्रारम्भिक लगानीमा २०४८ सालमा ‘होटल एसिया’ सुरू गरे।

‘पढ्दै गर्दा नै पोखराको पर्यटनले लोभ्याइसकेको थियो,’ सिएनले भने, ‘भविष्य पनि पर्यटनमै छ र संसार घुम्दै व्यापार गर्न सकिने उत्कृष्ट काम नै पर्यटन हो भन्ने लाग्यो।’

होटलमा विदेशी पर्यटक आउने क्रम बढ्यो। व्यवसाय राम्रो हुँदै गयो। पाण्डे दाजुभाइ लगानी थप्दै अघि बढे।

‘हामीले अर्कैको जग्गा र भौतिक संरचना लिजमा लिएर सानो लगानीमा होटल सुरू गरेका थियौं,’ सिएनले भने, ‘आम्दानी बढ्दै गएपछि लगानी थप गर्दै गयौं।’

उनीहरूले १५ वर्षसम्म होटल एसिया नाममै व्यवसाय चलाए। यसपछि भने व्यवसायलाई नयाँ नाममा ब्रान्डिङ गर्ने सोचे। यसैअनुसार २०६३ सालमा होटल ल्यान्डमार्क नामकरण गरे।

सिएनका जेठा दाजु मुक्तिराम पाण्डे पनि पर्यटनमै थिए। उनी काठमाडौंमा ‘सम्राट ट्राभल्स एन्ड टुर्स’ चलाउँथे। होटल ल्यान्डमार्क पनि सम्राट ग्रुपबाटै चल्यो र सात वर्ष पोखरामा सीमित रह्यो।

यसपछि दाजुभाइ मिलेर होटलकै विस्तारमा लागे।

उनीहरूले २०७० सालमा चितवनको सौराहामा ल्यान्डमार्कको दोस्रो होटल सञ्चालन गरे। त्यसको पाँच वर्षपछि, २०७५ सालमा काठमाडौंको दरबारमार्गमा तेस्रो होटल चल्यो। यसको पाँच वर्षपछि चौथो होटल भैरहवामा सञ्चालन भएको हो।

‘३२ वर्षअघि पर्यटन क्षेत्रमा लाग्दा अर्कैको जग्गा र संरचना लिजमा लिएका थियौं,’ सिएनले भने, ‘अहिले देशका विभिन्न सहरमा होटलको चेन स्थापित गर्नुपर्छ भन्ने लागेर ल्यान्डमार्क ब्रान्ड चलाएका हौं।’

चारवटै होटल प्रकृति र ऐतिहासिकतासँग जोडिएको उनको भनाइ छ।

उनका अनुसार पोखराको होटल फेवातालसँग जोडिएको छ। चितवनमा राष्ट्रिय निकुञ्ज छ। काठमाडौंमा नारायणहिटी दरबारसँग जोडिएको छ। भैरहवाको ल्यान्डमार्क पनि प्राकृतिक रूपमा बग्ने डन्डा खोला, भारतसँगको सीमा-नाका बेलहिया र बुद्ध जन्मस्थल लुम्बिनीसँग नजिक छ।

दुई लाख रूपैयाँ लगानीमा सुरू भएको होटल व्यवसायमा ३२ वर्ष पूरा हुँदा लगानी करिब चार अर्ब रूपैयाँ पुगेको छ। यहाँसम्म आइपुग्दा ल्यान्डमार्क होटल पारिवारिक व्यवसायकै रूपमा चलेको छ।

सिएन भन्छन्, ‘पोखरा र चितवनमा पारिवारिक रूपमा चलेको छ। अन बाई फेमिली, रन बाई प्रोफेसनल ग्रुप भन्ने हाम्रो नारा नै छ। काठमाडौंमा साझेदारीमा छौं। भैरहवामा व्यवस्थापनको काम गर्दैछौं।’

केही वर्षमा नगरकोट, बर्दिया, पाल्पा, गुल्मी र प्यूठानमा होटल विस्तार गर्ने उनीहरूको योजना छ।

‘चुनौती नभएको त व्यवसाय नै छैन। सामना गरेर अघि बढ्दै आजको ठाउँमा आइपुगेका हौं,’ सिएनले भने, ‘हामीले वर्षौंदेखि भैरहवालाई हब बनाएर धेरै पर्यटकलाई आतिथ्य दिएका छौं। अहिले भैरहवामै उपस्थित भएका छौं। सफल हुनेछौं भन्ने विश्वास छ।’

सम्राट ग्रुपले केही वर्षदेखि भैरहवाबाट ‘देशदर्शन’ नाममा पर्यटक बस पनि चलाउँदै आएको थियो।

काठमाडौंमा सम्राट टुर्स एन्ड ट्राभल्स छ। त्यसको माध्यमबाट पनि पोखरा र चितवनजस्तै लुम्बिनी आउने पर्यटकलाई भैरहवामा आकर्षित गर्ने सिएनको विश्वास छ।

‘सिधै काठमाडौं पुगेका पर्यटकलाई एकपटक लुम्बिनी पुग्नैपर्छ भन्ने बुझाउन सके भैरहवा र लुम्बिनीमा धेरै पर्यटक ल्याउन सकिन्छ,’ उनी भन्छन्, ‘भैरहवाबाट भित्रिएका पर्यटक चितवन र पोखरा हुँदै काठमाडौंबाट बाहिरिने प्रबन्ध गर्नुपर्छ। काठमाडौंबाट भित्रिएका पर्यटक पोखरा, चितवन हुँदै भैरहवाबाट बाहिरिने प्रबन्ध गर्नुपर्छ। हामी यसरी नै अघि बढ्ने योजनामा छौं।’

दाजुभाइका  छोरा पनि पर्यटनमै

होटल र टुर्स एन्ड ट्राभल्समा ३२ वर्ष बिताएका पाण्डे दाजुभाइले आफ्ना छोराहरूलाई पनि पर्यटन व्यवसायमै आबद्ध गराएका छन्।

नेपालमा लगानी र व्यवसायको सम्भावना नरहेको भन्दै युवा पुस्ता विदेश पलायन भइरहेको अवस्थामा आफूहरूले छोराहरूलाई पनि नेपालमै पर्यटन क्षेत्रमा लगाएको ओमप्रकाशको भनाइ छ।

ओमप्रकाशका अनुसार दाजुभाइका चार छोराले सम्राट समूहका विभिन्न क्षेत्र सम्हालेका छन्। समूहका अध्यक्ष रहेका जेठा मुक्तिरामका छोरा रमेशले काठमाडौंको सम्राट टुर्स एन्ड ट्राभल्स हेर्छन्। सिएनका छोरा सम्राट जनशक्ति व्यवस्थापनको जिम्मेवारीमा छन्।

ओमप्रकाशका दुई छोरामध्ये एक जना चार्टर्ड अकाउन्टेन्ट (सिए) छन्। उनी सम्राट समूहको लेखा हेर्छन्।

पोखराको होटल ल्यान्डमार्कको जिम्मा अर्का भाइ राजुलाई छ।

ओमप्रकाशका अनुसार चार सहरमा रहेका चार होटलमा कम्तीमा एक हजार जनाले रोजगारी पाएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: