
लोकतन्त्र समाचारदाता—-
सर्लाही,फाल्गुन १८
प्रेस सेन्टर सर्लाही शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार शिवकुमार महतोलाई फोन मार्फत गालिगलौज गर्दै अंगभंग पारी दिन्छु भन्दै धम्की दिएको प्रति आपत्ती जनाउँदै दोषी उपर कार्यवाहीको माग गरेको छ।
सर्लाही जिल्लाको गोडैता नगरपालिका स्थित बजारमा रहेको धडकन एफएममा कार्यरत संचारकर्मी महतोलाई एक अपरिचित व्यक्तिले गत बुधबार दिउँसो ९८१५८७५४९१ नम्बरको मोबाइलबाट फोन गरेर किन समाचार लेखेको तेरो दुईवटै खुट्टा भाँचीदिन्छु भन्दै गालिगलौज गर्दै धम्की दिएका थिए।
यसरी कुनै संचारकर्मीलाई समाचार लेखेको भन्दै धम्की दिएर प्रेस स्वतन्त्रताको हनन गरेर निन्दनीय कार्य गरेकोले यस प्रति प्रेस सेन्टरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सर्लाही शाखाका सचिव राधेश्याम कुशवाहाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी कार्यवाहीको दायरामा ल्याउन माग गरेको छ।