नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी भीमप्रसाद ढकालले जानकारी दिए
उनीहरू फ्लाई दुबईको उडानबाट दुबईबाट नेपाल आएका थिए।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट करिब ९५ लाख ४३ हजार ३८४ नेपाली हुन आउने उक्त विदेशी मुद्रा अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरिएको डीआइजी ढकालले जानकारी दिए।
पक्राउ परेका निज पाकिस्तानी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने केन्द्रीय प्रहरी प्रवक्ता ढकालले बताए। सेतोपाटी